लैंगिक हिंसा के हो?

लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसालाई लैङ्गिकतामा आधारित हिंसा भनिन्छ । स्रोत, साधन, अवसर, जिम्मेवारि तथा हक, अधिकारको असमान वितरण, सानो उमेरमा वा बालविवाह, महिलालाई घरमा मात्र सिमित राख्नु, महिलाको कामको मूल्याङ्कन नगरिनु जस्ता लिङ्गको आधारमा हुने हिंसाहरू यस अन्तर्गत पर्दछ ।

साथै, लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७१ अनुसार “लैङ्गिक हिंसा” भन्नाले सार्वजनिक वा निजी जीवनमा लैङ्गिक आधारमा कसै प्रति शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पुर्‍याउने कार्य सम्झनु पर्छ र सो शब्दले लैङ्गिक आधारमा हुने वा हुन सक्ने कुनै पनि प्रकारको अपमानजन्य, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दवाव, करकाप वा स्वेच्छाचारी रुपमा महिलालाई स्वतन्त्रताको उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समेतलाई जनाउँछ ।

शारिरीक हिंसा

कुटपिट, जबरजस्ती, गर्भपतन गर्न लगाउनु, महिलालाई कामको बोझ थपेर दुःख दिनु वा शारीरिक रुपमा घाऊ, चोटपटक वा क्षति पुग्ने गरि गरिने कुनै पनि प्रकारका हिंसा यस अन्तर्गत पर्दछन् ।

मानसिक हिंसा

शारीरिक यातनाको डर, धाक, धम्की दिने, त्रासपूर्ण व्यवहार गर्ने, गालीगलौच गर्ने, अपशब्द बोल्ने, अरुका अगाडि होच्याउने, तिरस्कार गर्ने, झुठा बात लगाउने, घरबाट निकाला गर्ने, इच्छा विपरित काम गर्न लगाउने साथै बैचारिक, धार्मिक, साँस्कृतिक तथा परम्पराका आधारमा गरिने भेदभावलाई समेत जनाउँदछ ।

सामाजिक साँस्कृतिक हिंसा

सामाजिक संस्कार, धर्म परम्परा वा रीतिरिवाजका आधारमा गर्ने हिंसाहरु जस्तै बालविवाह, बोक्सिको आरोप, झुमा, देउकी, वादी, बोक्सी, बहुविवाह, सुत्केरी तथा रजस्वलाको समयमा गरिने छुवाछुतको व्यवहार वा छाउपडि इत्यादि सामाजिक साँस्कृतिक हिंसा भित्र पर्दछन् ।

यौनिक वा यौन हिंसा

काम गर्ने स्थान, अध्ययन–अध्यापन गर्ने स्थान, सार्वजनिक यातायात वा अन्य सार्वजनिक स्थानमा, घरभित्र वा जुनसुकै स्थानमा गरिने बलात्कार, बलात्कारको प्रयास, यौन दुव्र्यवहार, यौनशोषण, जबरजस्ती संवेदनशील अगंहरु छुने वा छुवाउने जबरजस्ती वा झुक्याएर यौन चित्र फोटो वा फिल्म देखाउने वा जबरजस्ती संवेदनशील चित्र, फोटो वा फिल्म खिच्ने, यौनजन्य कुराकानी वा शब्दहरूको प्रयोग गर्ने वा यस्तै प्रकारका अन्य घटनाहरू यौनिक हिंसा भित्र पर्दछन् । यौनिक हिंसाको धेरै जसो घटनाहरू चिनेजानेकै व्यक्तिहरूबाट हुने गरेको तथ्याङ्कले देखाउँछ ।

आर्थिक हिंसा

सगोल वा निजि सम्पतीको प्रयोग गर्न वा रोजगारी वा आर्थिक श्रोत साधनको पहुंच वा प्रयोगमा बञ्चित गर्ने कार्यलाई जनाउँदछ ।